एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर २१ :
धनुषाको धनौजी गाउपालिकामा पछाडी पारिएका मुसहर तथा चमार समुदायका महिलाहरुलाई जिविकोपार्जनमा सहयोग पुग्ने उद्देश्यले ३ दिने तरकारी खेती सम्बन्धी तालिम शुरु गरिएको छ । संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रम संगको सहकार्य तथा ग्रामीण सामुदायिक दिगो विकास केन्द्र धनुषाको आयोजनामा मुसहर तथा चमार समुदायका महिलाहरुलाई जिविकोपार्जनमा सहयोग पुग्ने उद्देश्यले ३ दिने तालिमको आयोजना गरिएको हो ।
धनौजी वडा नम्बर २ का ३५ जना चमार तथा मुसहर समुदायका महिलाहरुलाई तरकारी खेती सम्बन्धी तालिमको आयोजना गरिएको केन्द्रका अध्यक्ष राजेश झाले जानकारी दिए । सिमान्तकृत तथा पछाडि पारिएका दलित समुदायका महिलाहरुलाई जलवायु परिवर्तन न्युनीकरणको माध्यमले आयआर्जनमा वृद्घि गराई, आर्थिक सशक्तिकरण गरी जिवनस्तर उकास्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको अध्यक्ष झाले बताए । कार्यक्रममा सहभागीहरुलाई अर्गेनिक तरकारी खेतीको प्रविधि, विधि तथा जैविक मल ÷ जैविक विषादि निर्माण सम्बन्धमा तालिम प्रदान गरिने छ । १८ महिनाको सो परियोजना अन्तर्गत तालिम पश्चात सहभागी महिलाहरुलाई तरकारीको बिउविजन समेत वितरण गरिने परियोजना संयोजक शान्ता ढकालले बताइन् ।
३ तिन दिने तालिम कार्यक्रमको उद्घाटन धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार शाह र उपाध्यक्ष रामवती मण्डलले दिप प्रज्वलन गरी गरेका थिए ।