एसपी रिपोर्टर
जनकपुरधाम, माघ १४ :
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित राम जानकी आधारभूत विद्यालयको जग्गाको सिफारिसमा अनाकानी गरिरहेकोले स्थानीय केहि व्यक्तिहरुले सात दिने अल्टिमेटम दिएको छ । विद्यालयको मातहत रहेको केही जग्गा अतिक्रमणमा परेको र केही जग्गामा जानकी पतन्जली योग शिविर सञ्चालनमा ल्याएको छ । ती जग्गाहरु विद्यालयको मातहतमा ल्याउन स्थानीयहरुले बुधवार पत्रकार सम्मेलन गरी माँग गरेका छन ।

सोही वडाका नागरिक समाजको प्रतिनिधित्व गर्दै आएका दीपनारायण साहले वडा अध्यक्ष जानकी राम साह विद्यालयको विकास नगरीकन अनाहक रुपमा शौचालय निर्माण, योग शिविरमा रकम खर्चिदै आएको आरोप लगाएका छन् । उनले पटकपटक विद्यालयलाई व्यवस्थित गर्न, विद्यालयको जग्गामा खेलकुद मैदान, छात्रावास निर्माण तथा गार्डेन निर्माण गर्नुपर्ने ठाउँमा वडा अध्यक्ष साह व्यक्तिगत लाभका लागि शौचालय लगायतको निर्माणमा रकम खर्चिदै गरेको अरोप लगाए ।

योग शिविर सञ्चालनमा ल्याउँदा विद्यालयसँग केही सम्झौता भएको थियो। तर निर्माण पश्चात् वडा अध्यक्षकै संलग्नतामा विद्यालयभन्दा बाहिर योगशिविरलाई ल्याउन खोजेको स्थानीय लक्ष्मण पाण्डेले पत्रकार सम्मेलनमा भने । पत्रकार सम्मेलनमा केही स्थानीयहरुले सातदिनभित्रमा माँग पुरा नभएमा चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन् ।