एसपी रिपोर्टर
जनकपुरधाम, पुष १९ :
मधेशका सभामुख रामअशिष यादवले शिक्षा नै समाज र राष्ट्र विकासको मेरुदण्ड रहेको बताएका छन् । जनकपुरधामको हिमाली बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख यादवले समाज र राष्ट्र विकासको सर्वांगिन विकासको मूल आधार शिक्षा रहेको बताए ।

उनले शिक्षित जनशक्ति बिना समृद्ध समाज निर्माण सम्भव नरहेको बताउँदै विद्यालय तहबाटै अनुशासन, नैतिकता, सिर्जनशीलता र व्यवहारिक ज्ञानमा जोड दिनुपर्ने आवश्यक्ता रहेको बताए । साथै शिक्षकहरूको भूमिकालाई अत्यन्त महत्वपूर्ण भन्दै शिक्षकहरू नै समाज परिवर्तनका वास्तविक अभियन्ता रहेको धारणा राखे ।

सभामुख यादवले वार्षिकोत्सव केवल उत्सव मनाउने दिन मात्र नभई स्कुलका संस्थापक, शिक्षक तथा सरोकारवालाले शिक्षालाई कसरी अझ मजबुत, गुणस्तरीय र व्यवहारिक बनाउने भन्ने विषयमा गहिरो समीक्षा गर्ने अवसरसमेत भएको उल्लेख गरे । कार्यक्रममा हिमाली बोर्डिङ स्कुलले विगत ३४ वर्षदेखि शिक्षा क्षेत्रमा पु¥याउँदै आएको योगदानको चर्चा गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक रमेश साहले गुणस्तरीय शिक्षाका लागि विद्यालयले अपनाउँदै आएको शैक्षिक नीति, अनुशासन र अतिरिक्त क्रियाकलापबारे जानकारी गराएका थिए ।
वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।

सम्मानित शिक्षक तथा विद्यार्थीहरूलाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको थियो । विद्यालयको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता सहितको कार्यक्रम समेत आयोजना गरिएको थियो ।