एसपी रिपोर्टर
जनकपुरधाम, साउन २० :
क्षिरेश्वरनाथ नगरपालिका–७ को सखुवा बजारस्थित निर्माणाधीन सभा हल र दुर्गाटोलस्थित दुर्गा तुलसी रा.प्रा.वि.को भवनको अनुगमन गरिएको छ । नेकपा (एमाले) नगर अध्यक्ष अनिल चौधरीको पहलमा गरिएको अनुगमनमा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले गर्नु भएको थियो ।
महासेठले निर्माणको प्रगति तथा गुणस्तरबारे जानकारी लिँदै समयमै गुणस्तरीय कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले विकास योजनामा एमालेको निरन्तर साथ र निगरानी रहने बताउनुभयो ।

त्यस्तै, सखुवाको बाख्राबजारदेखि दुधमती चौकसम्म बन्दै गरेको कालोपत्रे सडकको निरीक्षण गर्दै महासेठले सो सडक स्थानीय आर्थिक विकासको मेरुदण्ड हुने उल्लेख गर्नुभयो ।
नगर अध्यक्ष अनिल चौधरीले सभा हल र विद्यालय भवन नगरको दीर्घकालीन आवश्यकता भएको बताउँदै विकास निर्माणमा पारदर्शिता र गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अनुगमनमा नगर प्रमुख सुखदेव यादवसहित स्थानीय जनप्रतिनिधि तथा नेता सहभागी थिए । सहभागीहरूले दुबै संरचनाले भविष्यमा समुदायको लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।






