एसपी रिपोर्टर
जनकपुरधाम , साउन १ : 
जनकपुरधाम उपमहानगरपालिकाले बृद्धबृद्धा, विधवा महिला लगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको विवरण नविकरण गर्ने कार्य सुरु गरेको छ ।
आर्थिक वर्षको पहिलो दिन उपमहानगरपालिकाले वडा नम्बर १० बाट बायोमेट्रिक प्रणालीमार्फत नविकरणको प्रक्रिया थालनी गरेको छ । नगरप्रमुख मनोजकुमार साहका अनुसार, सामाजिक सुरक्षा भत्ताको वितरणलाई थप पारदर्शी र व्यवस्थित बनाउन बायोमेट्रिक प्रणाली लागू गरिएको हो । उनले भने, ‘सामाजिक सुरक्षाको नविकरणको कार्य साउन र भदौ महिनाभित्र सम्पन्न गर्ने योजना भए पनि, साउन महिनामै सबै वडामा काम सक्ने हाम्रो लक्ष्य हो ।’

नविकरण प्रक्रियामा लाभग्राहीहरूले आफ्नो नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, पुरानो भत्ता विवरण तथा औंठाछाप दिनुपर्नेछ । यस कार्यले सामाजिक सुरक्षा योजनामा दुरुपयोगको सम्भावना न्यून गर्दै, वास्तविक लाभग्राहीले समयमा भत्ता प्राप्त गर्न सक्ने वातावरण तयार पार्ने विश्वास गरिएको छ ।
उपमहानगरपालिकाले सबै लाभग्राहीहरूलाई समयमै वडामा उपस्थित भई बायोमेट्रिक नविकरण गराउन आग्रह गरेको छ ।