एसपि रिपोर्टर
जनकपुरधाम, जेठ २ : 
जनकपुरधाम उपमहानगरपालिका–२का वडासदस्य एवं नवमिथिला फाउन्डेसनका अध्यक्ष अमित कुमार साह अन्तर्राष्ट्रिय भिजिटर नेतृत्व कार्यक्रमकालागि अमेरिका प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय भिजिटर नेतृत्व कार्यक्रम सन २०२५ मे १९देखि जुन ७सम्म चल्नेछ । युथ एण्ड कम्युनिटी इन्गेजमेन्ट फर द इण्डो पेसिफिक शिर्षकमा ३ सातासम्म चल्ने सो कार्यक्रममा १० देशका युवाहरु सहभागी हुन लागेका हुन् ।

अष्ट्रेलिया, बंगलादेश, बर्मा, क्याम्बोडिया, हङकङ, नेपाल, श्रीलंका, थाइल्याण्ड, र भियतनामका युवा नेताहरुको सहभागिता रह्ने बताइएको छ । कार्यक्रममा सहभागीहरूले युवाहरूलाई आर्थिक समृद्धि र स्थायी लोकतान्त्रिक संस्थाहरूको विकासमा कसरी संलग्न गरिन्छ भन्ने विषयमा अमेरिका भित्र भएका अभ्यासहरू अवलोकन गर्नेछन् । साथै, नेतृत्व विकास, रणनीतिक योजना, प्रविधि र सामाजिक सञ्जालको प्रयोग, सार्वजनिक पहुँच, साझेदारी सञ्जाल निर्माण लगायत विषयमा कार्यशाला, छलफल तथा भ्रमण हुने जनाइएको छ ।
साहले नव मिथिला फाउन्डेसनमार्फत विगत लामो समयदेखि सांस्कृतिक संरक्षण, युवा सशक्तिकरण, र नीति निर्माणमा युवाहरूको सहभागिता अभिवृद्धि गर्ने कार्य गर्दै आएका छन् । उनी जनस्तरमा आधारित स्थानीय शासन र लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने क्षेत्रमा पनि क्रियाशील रहेका छन् ।