एसपी रिपोर्टर
जनकपुरधाम, चैत १७ :
राजसंस्था पुनर्स्थापनाको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकलाई नियोजित आगजनीमा मारिएको घटनाको विरोध गर्दै मधेश पत्रकार समाजले शनिबार ५ बुँदे माग अघि सारेको छ।
प्रदेश अध्यक्ष विरेन्द्र रमण र धनुषा शाखा अध्यक्ष सुभाष कर्णद्वारा जारी विज्ञप्तिमा निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठन, दोषीको तत्काल पक्राउ र कडा कारबाहीको माग गरिएको छ। साथै, मृतकलाई शहीद घोषणा गर्दै परिवारलाई उचित क्षतिपूर्ति तथा एक सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
समाजले प्रेस स्वतन्त्रता हननप्रति गम्भीर आपत्ति जनाउँदै आन्दोलनका क्रममा पत्रकारमाथि नियोजित आक्रमण भइरहेको बताएको छ। संचार गृहमाथिको आक्रमण, आगजनी, तोडफोड र पत्रकारमाथि हिंसालाई निन्दनीय ठहर गर्दै राज्यलाई पत्रकारहरूको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ।
पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै राज्यसँग तत्काल माग पूरा गर्न आग्रह गरेको छ।