एसपी रिपोर्टर
महोत्तरी,चैत ४ : बर्दिबास नगरपालिका-३ स्थित सडकबाट ५४७ किलोग्राम अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।
काठमाडौँको टोखा क्षेत्रमा डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ निवासी ३७ वर्षीय सलिन मगरलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।इलाका प्रहरी कार्यालय बर्दिबास र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा.३ ख ५८३२ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको थियो।
ट्रकको माथिल्लो भागमा टिनको फल्स बटम बनाई कालो त्रिपालले छोपेर गाँजा लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मिनिट्रकका चालक सलिन मगरलाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।