एसपी रिपोर्टर
काठमाणडौं, फागुन १८ : गृहमन्त्री रमेश लेखकले सिराहाको नवराजपुर गाउँपालिकाकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कारपछि हत्या भएको बताएका छन्।
आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री लेखकले दोषीलाई खोजी गरी कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार, माघ ३० गते रिंकुकुमारी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानका आधारमा १९ वर्षीय रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी परेपछि पक्राउ पुर्जी जारी गरिएको छ।फागुन ८ गते मृतककी आमाले आठ जनाविरुद्ध पूरक जाहेरी दिएकी छिन्, जसमा अपहरण, सामूहिक बलात्कार, हत्या तथा पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गराउने आरोपहरू समेटिएका छन्। ती आठै जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने पञ्चायतमा संलग्न तीन जना पक्राउ परिसकेका छन्।
गृहमन्त्री लेखकले पीडकलाई छिटोभन्दा छिटो पक्राउ गरी कानुनी दायरामा ल्याउने प्रक्रिया तीव्र रुपमा अघि बढाइएको बताएका छन्।