एसपी रिपोर्टरकाठमाणडौं, फागुन १८:आजदेखि देशभर मौसममा सुधार आएको छ। काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा घाम लागेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जनकपुरमा आजको उच्चतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस पुग्नेछ। भैरहवा, सिमरा, र विराटनगरमा २९ देखि ३१ डिग्री, धनगढी, नेपालगञ्ज, र विरेन्द्रनगरमा २७ देखि २९ डिग्री, तथा धरानमा २८ देखि ३० डिग्री सेल्सियस रहने अनुमान छ। काठमाडौंमा तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहनेछ।जुम्लामा राति सबैभन्दा कम तापक्रम माइनस १ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको छ। हिजो परेको पानीले काठमाडौं उपत्यकाको वायु प्रदूषण केही कम गरेको छ।

देशभर उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले तत्काल वर्षाको सम्भावना छैन। महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार प्रि-मनसुन सुरु भइसकेकाले हावाहुरी र चट्याङको जोखिम बढ्न सक्छ। उनले घरको छानो सुरक्षित राख्न र चट्याङबाट बच्ने उपायहरू अपनाउन आग्रह गरेका छन्।