एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १७ :
मैथिली भाषा, साहित्य, र संस्कृतिको प्रवर्द्धनका लागि मैथिली साहित्य समाजद्वारा आयोजित मासिक कवि गोष्ठीले ११ वर्ष पूरा गरेको छ। १३३औं शृङ्खलासहित सम्पन्न यस गोष्ठीका अवसरमा वार्षिकोत्सव मनाइयो।
वार्षिकोत्सव समारोहमा वक्ताहरूले जनकपुरधामलाई मैथिली साहित्य र संस्कृतिको केन्द्रका रूपमा स्थापित गर्न कवि गोष्ठीले खेलेको महत्त्वपूर्ण भूमिकाको चर्चा गरे। नेकपा (एमाले) मधेश प्रदेशसभाका उपनेता दिपेन्द्र ठाकुरले यो कवि गोष्ठीलाई विश्व साहित्यमा मैथिली भाषाको उचाइ बढाउने अभियानको संज्ञा दिँदै आयोजकहरूलाई बधाई दिएका थिए।
साहित्यकारहरूका अनुसार १३३ पटकसम्म अविरल रूपमा आयोजना भएको यो गोष्ठी मैथिली साहित्यको इतिहासमा एक महत्त्वपूर्ण उपलब्धि हो। सहभागीहरूले यसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा समावेश गर्न पहल गर्नुपर्ने सुझाव दिए।
गोष्ठीमा ६० भन्दा बढी कविहरूले आफ्ना रचना वाचन गरेका थिए। प्रमुख वक्ताका रूपमा अयोध्यानाथ चौधरी, डा. रेवतीरमणलाल, तथा जिससका पूर्व उपसभापति दीपक झा उपस्थित थिए। कविता वाचन गर्ने अन्य प्रमुख कविहरूमा काशीकान्त झा, सुनिल मल्लिक, डा. विरेन्द्र कुमार झा, प्रमोदानन्द झा, डा. गायत्री झा, धिरेन्द्र झा मैथिल, पुनम झा मैथिली, फुलेन्द्रलाल कर्ण, र शिवानी मिश्र लगायतका थिए।