एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ९ : लकडाउनका बिच पनि जनकपुरधामका युवाहरुले रक्तदान गरेका छन् । कोरोना भाईरसको संक्रमणबाट बच्न नेपाल सरकारले गरेको लकडाउन (बन्दाबन्दी) लाई मध्यनजर गर्दै यस्तो संकटको घडीमा रगत अभाव हुन नदिनका लागि जनकपुरका केहि युवाहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी धनुषामा रगतको अभाव भएपछि समान्य विरामीहरु समेत रक्तको अभावमा पिरोलिएको घटनाहरु वाहिर आउन थालेपछि युवाहरु रक्तदानको आयोजना गरेका हुन । आफुहरुलाई रेडक्रसले आग्रह गरेपछि रगत संकलनमा जुटेको व्याहुत युवा मञ्चका अध्यक्ष राकेश बिक्रम साहले बताए । सो कार्यक्रम स्थानीय युवाहरु रोहित कुमार साह, राहुल कुमार साह र अभिषेक अग्रवालको सहकार्यमा व्याहुत युवा मञ्चले आयोजना गरेको थियो ।

यस्तो विषम परिस्थितीमा युवाहरुले देखाएको उतरदायित्व सराहनीय छ ।
बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको अवधिमा ६४ जनाले रक्तदान गरेको मञ्चका अध्यक्ष साहले जानकारी दिए । अहिलेको विषम परिस्थितिमा सबैजनाले आ(आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्नुपर्ने भन्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि व्याहुत सेवा समितिका अध्यक्ष शम्भु साहले बताए ।
रक्तदान गर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका वडा न.३ का वडाध्यक्ष दिपेन्द्र साह, उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिरा, स्थानीय युवाहरु रोशन बुढाथोकी, सुभाष पाण्डे, नविन सिंह, सरोज मण्डल, मनिष कर्ण, मनोज कुमार यादव, चन्दा देवी साह लगायत ६४ जना रहेका छन् ।