एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर २५ : चुरे तथा वन जंगल संरक्षण अभियानले चुरे संरक्षण सहितका विभिन्न मांग अघि सार्दै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । सोमबार एक पत्रकार सम्मेलन आयोजना गरी चुरे अभियानीहरुले विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
संघिय सरकारले ढुँगा, गिटी र बालुवा विदेशमा निकाशी गर्ने अभिप्रायले विधेयक ल्याएको भन्दै त्यो विधेयक खारेज गर्नुपर्ने चुरे तथा वनजंगल संरक्षण अभियानका अभियन्ता सुनिल रायले माग गरे । यसका साथै २÷३ वर्षदेखि एकै ठाउँमा कार्यरत वनका कर्मचारीको सरुवा गर्नुपर्ने, राष्ट्रिय भुमी आयोगद्वारा मधेशी दलित, भुमीहन तथा सुकुम्वासीहरुलाई भुमी अधिकारवाट बञ्चित गरिएको प्रति मधेश प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै वास्तविक भूमिहिनलाई जग्गा उपलब्ध गराउनु पर्ने, प्रदेशको नदी नालाहरुवाट हुने अवैध ढुँगा, गिटी, बालुवाको उत्खन्न तत्काल बन्द गर्नुपर्ने, निवर्तमान प्रदेश वन सचिव जग्गनाथ प्रसाद जयसवालले पाएको पदिय अख्तियारीको दुरुपयोग गरी समृद्धिकालागि वन परियोजना, जनकपुरधाम, प्रदेश वन निर्देशनालय, जनकपुरधाम र वन तथा वातावरण मन्त्रालय, जनकपुरधाममा गरेको सम्पुर्ण सरकारी खर्चहरु तथा निजले गाडी, ईन्धन, दैनिक भ्रमण भक्ता लगायतका खर्च सार्वजनिक गर्नुपर्ने, मारुती सिमेन्ट प्रा लिले अतिक्रमण गरेको वन बुटेनको जग्गा डिभिजन वन कार्यालय सिरहाको मिति २०८०÷७÷१२ खारेज गर्न गरिएको निर्णय कार्यान्वयन गर्नुपर्ने लगायतका मागहरु अभियानीहरुले अगाडी बढाएका छन् ।
माग पूरा नभए संघर्ष गर्नका लागि बाध्य हुने अभियन्ता रायले चेतावनी दिए । उनले माग पूरा नभए पुस ५ गते जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउने, पुस ११ गते वन तथा वातावरण मन्त्रालय अगाडी विरोध जुलुस प्रर्दशन गर्दै ज्ञापनपत्र बुझाउने, पुस १२ गते मधेश प्रदेश प्रहरी कार्यालयमा ध्यानाकषर्णपत्र बुझाउने, पुस १३ गते मधेश प्रदेशका मुख्यमन्त्री कार्यालयमा विरोध प्रर्दशन गर्दै ज्ञापनपत्र बुझाउने र पुस १७ गते सप्तरीको कोशी व्यारेज देखि हुलाकी राजमार्ग हुदै पर्साको वीरगंज सम्म चुरे संकल्प पद यात्रा गर्ने संघर्षको कार्यक्रम गर्ने बताए ।