एसपी रिपोर्टर
जनकपुरधाम, माघ १७ :
तराई–मधेश लोकतान्त्रिक पार्टीले विभिन्न साना दलहरुसंग एकता नभए सहकार्यका लागि सम्वाद थालेको छ । तमलोपाको केन्द्रीय कार्यालयमा लोकतान्त्रिक मधेशी फ्रन्टको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ नेता डा. विजयकुमार सिंहले विभिन्न पार्टीहरुका प्रतिनिधिहरुबीच एकता र सहकार्यको विषयमा केन्द्रित रही छलफल अघि बढाइएको छ ।

छलफलको क्रममा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्री नारायण ठाकुर, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो र केन्द्रीय सदस्य बालकेश्वर ठाकुर, राष्ट्रिय सद्भावना पार्टीका प्रवक्ता, राजेश्वर ठाकुर, बहुजन एकता पार्टीका केन्द्रीय सदस्य राम सागर महरा, स्वाधीन मधेश जनअभियानका केन्द्रीय सदस्य बिपिन अधिकारी र नेपाल लोकतान्त्रिक पार्टीका डा. कृष्णचन्द्र साह लगायतको सहभागिता रहेको थियो ।

उक्त बैठकबाट सहकार्य तथा एकतालाई आगाडि बढाउने निर्णय गर्दै यसलाई ठोस स्वरुप प्रदान गर्न फागुन १ गते सोमबार पुन: बैठक बस्ने निर्णय भएको तमलोपाका केन्द्रिय नेता उमेश मण्डलले जानकारी दिए ।