एसपी रिपोर्टर
जनकपुरधाम, माघ ८ : विभिन्न पार्टी र संघ संस्थाहरु जनकपुुरधामको प्रसिद्व श्री जानकी मन्दिर केन्द्रित सरसफाई अभियानमा सक्रियता देखाएको छ । शनिवार जनमत पार्टी धनुषाले मन्दिरको प्राङ्गणमा सरसफाई गरेको छ । पार्टीको युवा नेता विरेन्द्र यादवको अगुवाईमा पार्टीका नेता कार्यक्रताहरुको समुख जानकी मन्दिर तथा विवाह मण्डपको परिषरमा सरसफाई गरेको छ ।
पार्टीका नेताहरु ई.शम्भुनाथ साह, संजय साह, सुरेन्द्र मण्डल सहितको उपस्थितीमा युवा नेता यादवको अगुवाई र सक्रियतामा मन्दिरको प्राङ्गणमा सरसफाई गरिएको थियो । नेता यादवले जानकी मन्दिर जनकपुरधामको लागि सबैथोक रहेको र पर्यटकको आकर्षणको केन्द्र रहेकाले सरसफाई अति आवश्यक रहेकाले जनचेतनाका लागि आफुहरु अग्रसर भएको बताए ।
एता सरसफाइ अभियानीहरुले आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै आइतबार जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर र आसपासको क्षेत्रमा बृहत् सरसफाइ गरेका छन् । ‘सरसफाइको मामिलामा नो कम्प्रोमाइज’ भन्दै आइतबार बिहान ८ बजेदेखि जानकी मन्दिरको बृहत् सरसफाइ गरिएको हो ।
सरसफाइ अभियन्ताहरुले पछिल्ला दिनहरुमा स्वास्थ्य, शिक्षा, धार्मिक आस्था, अनुशासन लगायत अन्य विभिन्न क्षेत्रहरुमा संलग्न व्यक्तिहरुलाई पनि कुनै पनि ढंगले ‘कम्प्रोमाइज’ नगर्न उत्साहित गर्दै आएको छ । सरसफाइ अभियानी धिरेन्द्र साहले स्वास्थ्य तथा सामाजिक हितको मामिलामा कुनै किसिमको सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् ।
जानकी मन्दिरको बृहत् सरसफाइ कार्यक्रममा धरानका सरसफाइ अभियानी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, जानकी मन्दिरभित्रका पर्यटक प्रहरी, कान्तिपुर पब्लिकेसनका विकास अधिकारी, एकल महिलाकी प्रदेश अधिकृत पूजा साह, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष ज्योति झा, सदस्य बरुणा कर्ण, पत्रकार आरती मण्डल, स्मृति मिश्र, लुमिनस ब्यूटि पार्लरकी सञ्चालिका गीता पौडेल, शिक्षक सञ्जु यादवलगायत दर्जनौंको सहभागिता रहेको थियो ।