एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३० :
जनकपुरधामको मुजेलिया स्थित रहेको राधाकृष्ण सार्वजनिक पुस्तकालयको नव कार्य समितिको लागि भएको चुनावमा धाँधली भएको भन्दै जिल्ला प्रशासनमा उजुरी परेको छ । गत शनिबार भएको निर्वाचनमा कोषाध्यक्ष पदको मतगणनामा धाँधली भएको भन्दै कोषाध्यक्षका प्रत्याशी प्रभास कुमार राय (जनक)ले उजुरी दिएका हुन् ।

उनले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषामा पुन: मतगणना हुनु पर्ने माग गर्दै उजुरी दर्ता गराएका हुन् । मतगणनामा धाँधली गरी एक भोटेल कोषाध्यक्षका प्रत्यासी रामअशिष साहलाई जिताएको अर्का प्रत्यासी रायको जिकिर छ ।

मतगणना परिणाममा निर्वाचित भएका साहको ३९ मत र रायको ३८ मत आएको निर्वाचन समितिले जनाएको छ । मतगणना स्थलमा जान नदिएको र निर्वाचन समितिलाई प्रभावित गरी आफ्नो एकमत रामअशिष साहकै हो भनेर गिन्ती गरी उनलाई जिताएको रायले दावी गरे । कोषाध्यक्ष पदमा तीनजनाको उम्मेदवारी परेको थियो ।

यस्तै अध्यक्ष पदमा समेत मत बराबर भएपछि अन्यौल भएको छ । अध्यक्ष पदमा राजकिशोर यादव र रामजस यादवसहित दुईजना प्रतिस्पर्धामा थिए । सो पदको मतगणना पुन: हुने जनाएको छ ।