एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३० : स्थानीय तहमा रहेका न्यायिक समितिलाई थप प्रभावकारी बनाएर आम नागरिकका समस्याहरुलाई समाधान गर्ने उद्देश्यले जनकपुरधाममा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
संस्थागत सुधार मार्फत न्यायमा पहूँच अभिबृद्धि परियोजना २ को आयोजनामा भएको सो गोष्ठीमा मधेश प्रदेश विभिन्न जिल्लाका वर्तमान तथा पहिलेका उपप्रमुख,न्यायिक समिति संग आवद्ध कर्मचारी तथा सदस्यहरुको उपस्थितीमा अहिले सम्मको असल अभ्यास तथा समस्याहरुका बारेमा अन्तरक्रिया मार्फत जानकारी लिई यसलाई दस्तावेजीकरण गरी समाधानका उपायहरु अपनाइने आयोजकले जनाएको छ ।
स्थानीय दलित समाज उत्थान समिति नामक संस्थाको समन्वयमा भएको सो कार्यशाला गोष्ठीमा निवर्तमान उपप्रमुखहरुले आफ्नो कार्यकालमा न्यायिक समिति संचालनमा भएको अवरोध तथा असल अभ्यासहरुका बारेमा जानकारी दिएका थिए भने वर्तमान न्यायिक समितिका संयोजकहरुले आफुहरुले गरिरहेको कामका बारेमा बताएका थिए ।
नेपालको संबिधानको स्थानीय सरकार ऐन को दफा ४७(१) र ४७(२)मा न्यायिक समितिको अधिकारकाबारेमा अधिवक्ता भोजमान लाम्गादे, सिमा धामीले कार्यपत्र प्रस्तुत गरी स्थानीय तहका न्यायिक समितिलाई सुदृढ बनाउन गरिने कामहरुका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।