एसपी रिपोर्टर
जनकपुरधाम, चैत २१ : मधेश प्रदेशमा पनि टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु हुन लागेको छ । मधेश स्वास्थ्य निर्देशनालयले सोमबार सञ्चारकर्मीहरूसँग गरेको गोष्ठीमा यो जानकारी दिएको हो । मधेश प्रदेशमा चैत २५ गतेदेखि सुरु हुने टाइफाइडविरुद्धको खोप अभियान वैशाख १८ गतेसम्म चल्नेछ ।
यो खोपको एक मात्रा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिनुभएको छ । सरुवा रोग टाइफाइडबाट अन्य विभिन्न किसिमका जटिल रोगहरू पनि लाग्ने गरेका यो खोप लगाउनु आवश्यक रहेको निर्देशक झाले बताउनुभयो ।
मधेश प्रदेशमा कुल १७ लाख ८७ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य छ । पहिलोपटक अभियान चलाउने र खोप अभियान सम्पन्न भएपछि बालबालिकालाई नियमित रूपमा खोप दिइने पनि उहाँले जानकारी दिनुभयो । हाल नेपालमा बालबालिकालाई जम्मा १२ वटा रोगविरुद्धका खोप लगाउने गरिएको छ । अब भने टाइफाइडसमेत गरी कुल १३ वटा खोप लगाइने छ ।





