एसपी रिपोर्टर
जनकपुरधाम, असार १६ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपुर्वी पृतना हेडक्वाटरमा रामजानकी बाटिकाको शिलान्यास गरेका छन् । प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको उक्त बाटिकाको मुख्यमन्त्री राउतले आज एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन ।
पृतनापति सुरेश कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख बिदुर कार्की, प्रदेश सरकारका प्रतिनिधिहरु, नेपाली सेनाका विभिन्न दर्जाका अधिकृतहरुको उपस्थिति रहेको थियो ।

बाटिकामा मिथिला संस्कृति लगायत नेपालको साझा संस्कृति झल्काउने रामजानकीको पुर्णकदको प्रतिमा, पृथ्वीनारायण शाहको प्रतिमा, राष्ट्रिय प्रतीक, नेपाली सेनाको लोगो, मिथिला संस्कृति झल्काउने विभिन्न सामग्रीका साथै गौरीशंकर हिमालको प्रतीकात्मक स्वरूप निर्माण गरिने पृतनापति कार्कीले बताए ।
कार्यक्रममा मुख्यमन्त्री राउतले मधेशका जनताहरुले नेपाली सेनाप्रतिको अपनत्व ग्रहण गर्न नसकिरहेको अवस्थामा नेपाली सेनाले पछिल्लो समयमा मधेसी जनतासँग अपनत्व बढाउने गरि कार्यहरु गर्न लागेकोमा धन्यवाद दिए ।
कोरोना महामारी जस्तो विषम परिस्थितिमा प्रदेशका जनताहरुका लागि नेपाली सेनाले प्रदेश सरकारसँगको समन्वयमा गरेको कार्यहरु प्रशंसनिय रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सराकार नेपाली सेनासँगको सहकार्यलाई सदैब निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।