एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ : कोरोना संक्रमितहरुको उपचार गरे वापत जनकपुरधामका निजि अस्पतालहरुले चर्को शुल्क मनोमानी असुल गरिरहेको आरोप लागि रहेका वेला काव्या अस्पताल प्रा.ली.ले त्यसको खण्डन गरेको छ । कोभिड विरामीको २४ औं घण्टा उपचार गरेर चर्चा कमाएको अस्पतालका सिईओ डा.एसके सिंहले पत्रकार सम्मेलनको आयोजना गरि काव्या अस्पताल माथी अनावश्यक आरोप लगाउने गरिएको प्रति खेद व्यक्त गरेका छन् ।
डा. सिंहले भने, ‘जनकपुरधाममा अलिकती स्टान्डर मेन्टेन सहितको सुविधाजनक अस्पताल चलाउने मेरो उद्देश्य हो तर कोरोनाको उपचारमा जनकपुरधामको अन्य अस्पताल भन्दा अलिकती पनी चर्को शुल्क हामीले लिएका छैनौं ।’ काव्या अस्पतालको सुविधा, सरसफाई र सेवा अनुसार अन्य भन्दा मंहगो हुनुपर्नेमा आफुहरु कोरोनाको उपचारमा त्यो पनि नगरेको तर पनि अनावश्यक प्रचारवाजी गरिएको उनको भनाई छ ।
आफुले गुणस्तरीय सेवा दिने गरि अस्पताल सञ्चालन गर्न लाग्दा यस्तो भ्रमको खेती भइरहेको उनको तर्क छ । अस्पतालले निर्धारित शुल्कभन्दा बढी उपचार खर्च लिएको, कोरोना संक्रमित विरामीहरुको उपचारमा लापरवाही गरेको, संक्रमितहरुसंगै अन्य बिरामीलाई समेत राखेको, उपचारपछि बिल उपलब्ध नगराएको लगायतका आरोपहरु लाग्दै आएको छ । ति सवै आरोपको कागजात सहित खण्डन गर्दै डा. सिंहले काम गर्दा जस पाउनु पर्नेमा खाली नाकारात्मक मात्र सुन्दा दुःख लाग्ने गरेको बताए ।

कोरोना विरामीलाई सक्दो ज्यानको परवाह नगरि बचाउने प्रयास गरियो कतिपयलाई सकेनौ पनि डा. सिंहले भने, ‘तर अथक प्रयासका बाबजुद बाचेका विरामीको कुरुवाले समेत सेवा वापतको शुल्क दिने बेलामा नाकारात्मक व्यवहार गर्ने गरेपछि मनोबल घटछ ।’ उनले कोरोनाको दोस्रो लहरमा काव्या अस्पतालले २ सय भन्दा बढी कोरोना संक्रमितहरुको उपचार गरेको जानकारी दिए । उनले आफ्नो अस्पतालमा उपचारका लागि आएका २ सय कोरोना संक्रमितमध्ये ६० जना बिरामीलाई भेन्टिलेटरको आवश्यकता परेको र संक्रमित मध्ये १० जनाको ज्यान गएको जानकारी दिए ।
डिसीसीएमसीले तोकेको प्याकेज अनुसार नै दररेटमा कोभिड बिरामीलाई निर्धारित सेवाहरु उपलब्ध गराउंदै आएको उनको दावी छ । जनकपुरधामको अरु अरु निजि अस्पताल भन्दा आफुहरु बढी शुल्क नलिएको समेत उनको दावी छ ।
उनले तोकिएको प्याकेजमा चिकित्सकको राउण्ड, नर्सहरुको भत्ता, अक्सिजन र भेन्टिलेटर लगायतका अन्य विशेष सुविधाहरु हस्पिटलबाटै दिइरहेको र यस्तै सुविधा काठमाण्डौ, धरान अथवा विराटनगरका अस्पतालहरु उपलब्ध गराउँदा दैनिक ५० हजार भन्दा बढी रकम लिइरहेकोमा आफ्नो अस्पतालले कसरी बढी रकम लियो ? प्रतिप्रश्न गरे ।





