एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २२ : विश्व वातावरण दिवसको अवसर पारेर धनुषाको हंसपुर नगरपालिकामा शनिबार वृक्षारोपण कार्यक्रम गरिएको छ । नगर प्रमुख रामज्ञान मण्डलले स्वस्थ मानव जीवनका लागि वातावरणमैत्री सन्तुलित विकास आवश्यक रहेको बताए ।
विश्व वातावरण दिवसका अवसरमा सम्पूर्ण मानवजातिलाई शुभकामना दिँदै नगर प्रमुख मण्डलले प्राणीजगतको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण संरक्षणको विषयमा मानवजातिले विशेष ध्यान दिन नसक्दा आज विभिन्न खालका समस्या र चुनौती देखापरेकाले स्वच्छ वातावरणतर्फ अग्रसर हुन आग्रह गरे ।

‘स्वच्छ, सफा र हराभरा प्रकृति मानव र प्राणीजगतको स्वस्थ जीवनसँग जोडिएको हुन्छ उनले भने–‘ प्राणीजगतको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण संरक्षणको विषयमा मानवजातिले विशेष ध्यान दिनुपर्छ ।’ मानवीय असन्तुलित क्रियाकलापका कारण एकमात्र जीवन सम्भव रहेको सौर्यमण्डलको ग्रह पृथ्वीमा रहेका प्राकृतिक स्रोत जल, जमीन, जङ्गल र वायु दिनप्रतिदिन प्रदूषित हुँदै गइरहेका छन् ।
वडा नं. बघचौडास्थित नगरपालिकाको कार्यालय परिसरमा विभिन्न जातका विरुवाहरु रोपिएको छ । सो अवसरमा वडा नं. १ का वडाध्यक्ष कामेश्वर कापर, वडा नं. २ वडाध्यक्ष उदय साह, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।