एसपी रिपोर्टर
काठमाणडौँ , वैशाख ९ : भारतका ऊर्जा, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर आज दुई दिने नेपाल भ्रमणमा आएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी आज बिहान काठमाडौं आइपुगेका हुन्।
भ्रमणको क्रममा मन्त्री खट्टरले भारत सरकारको सहयोगमा निर्माण सम्पन्न ‘कोशी कोरिडोर’ अन्तर्गत २२० केभी इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सो अवसरमा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन, र २२०/१३३/३३ केभी वसन्तपुर सबस्टेसनको पनि संयुक्त रूपमा उद्घाटन गरिनेछ।यसै क्रममा मन्त्री खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम समेत तय गरिएको छ।आजै नेपाल र भारतबीच संयुक्त रूपमा निर्माण गर्न लागिएको नयाँ अन्तरदेशीय प्रसारण लाइनका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुने ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ।
त्यसैगरी, मन्त्री खट्टर र मन्त्री खड्काको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन इन्डियाबीच दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि समझदारीपत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ।


