एसपी रिपोर्टर
काठमाणडौँ, वैशाख १० : भारतको जम्मु–कश्मीरमा हालै भएको आतंकी हमलापछि पाकिस्तानमाथि लगाइएको आरोपप्रति इस्लामाबादले कडा आपत्ति जनाएको छ। पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले उक्त घटनाको निन्दा गर्दै पाकिस्तानले यस्ता रक्तपातपूर्ण आतंकी गतिविधिहरू सधैं घृणा गर्ने बताए।
पाकिस्तानले पहलगाममा भएको आक्रमणलाई भारतको “घरेलु हिंसा” भएको दाबी गर्दै भारतीय भूभागमै असन्तुष्ट विद्रोही समूहहरूको संलग्नता रहेको जनाएको छ। एक टेलिभिजन अन्तर्वार्तामा रक्षामन्त्री आसिफले पाकिस्तानको सो घटनासँग कुनै संलग्नता नरहेको प्रस्ट पारे।”भारतभित्र धेरै विद्रोही संगठनहरू छन् — नागाल्याण्डदेखि कश्मीर, छत्तीसगढदेखि मनिपुर र दक्षिण भारतसम्म। यी घटनाहरू बाह्य घुसपैठको परिणाम होइनन्, भारतकै आन्तरिक समस्याको उपज हुन्,” रक्षामन्त्री आसिफले भने।उनले भारत सरकारले आफ्ना नागरिकमाथि दमनकारी नीति अपनाउने गरेको आरोप लगाउँदै, त्यसविरुद्ध उठेका विद्रोहमा पाकिस्तानको नाम जोडेर भारतीय सत्ता आफू उन्मुक्त हुने प्रयास गर्ने बताए।”भारतमा मानिसहरू आफ्ना अधिकारका लागि बोलिरहेका छन्, तर हिन्दूवादी समूहहरूले मुस्लिम, क्रिश्चियन, बुद्धिष्टजस्ता अल्पसंख्यक समुदायमाथि दमन गरिरहेका छन्। यस्ता गतिविधिहरू त्यसकै परिणाम हुन्,” उनले थपे।
रक्षामन्त्री आसिफले पाकिस्तान सबै प्रकारका आतंकवादको विरोधी रहेको स्पष्ट पार्दै भारतमा उत्पन्न आतंकी घटनाहरूविरुद्ध भने आफूहरूले केही गर्न नसक्ने टिप्पणी गरेका छन्।





