एसपी रिपोर्टर
एजेन्सी, साउन २४ : अमेरिकामा पुनः दैनिक नयाँ संक्रमितको संख्या एक लाख नाघ्न थालेको छ । अमेरिकाको डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)को तथ्यांकअनुसार अमेरिकामा केही नियन्त्रणमा देखिएको कोरोना संक्रमण पुनः बढ्न थालेको हो । अहिलेसम्म अमेरिकामा ७०.६ प्रतिशत वयस्क नागरिकले कोरोना खोप लगाइसकेका छन् ।
जसमध्ये ६०.९ प्रतिशतले खोपको पूरा डोज लिइसकेका छन् । यद्यपि अझै पनि लाखौं मानिसले कोरोना खोप लगाउन बाँकी छ । खोप अभियान सुस्त गतिमा चलेको फ्लोरिडा र टेक्सास जस्ता राज्यमा पछिल्लो समय कोरोना संक्रमण बढेको हो । सीडीसीकी निर्देशक रेचेल वेलेन्स्कीले अहिलेको मोडलअनुसार धेरैभन्दा धेरै मानिसलाई कोरोना खोप दिन नसक्ने हो भने आगामी दिनमा कोरोना संक्रमण तीव्र रुपमा फैलिन सक्ने चेतावनी दिएकी छिन् । अमेरिकामा गत वर्षको नोभेम्बरमा पहिलोपटक औसतमा दैनिक नयाँ संक्रमितको संख्या एक लाख नाघेको थियो ।
जनवरीमा दैनिक नयाँ संक्रमितको संख्या २ लाख ५० हजारसम्म पुगेको थियो । तर, त्यसपछि निरन्तर संक्रमण दरमा कमी आउँदै औसतमा कोरोना संक्रमितको संख्या जुन महिनामा ११ हजारको हाराहारीमा आइपुगेको थियो । त्यसपछि भने संक्रमण बढ्न थाल्यो र त्यसको ६ सातापछि उक्त संख्या एक लाख ७ हजारमा पुग्यो ।





