एसपी रिपोर्टर
जनकपुरधाम, साउन २३ :
जनकपुरधाम उपमहानगरपालिकाले लम्पी स्किन रोगको रोकथामका लागि नगर क्षेत्रमा खोप अभियानलाई तीव्रता दिएको छ । उपमहानगरले खोप अभियान अन्तर्गत १३ सयभन्दा बढी पशुमा खोप लगाइ सकिएको छ । साउन ८ गतेदेखि सुरु गरिएको खोप तथा उपचार कार्यक्रम हालसम्म अधिकांश वडाहरूमा सम्पन्न भइसकेको छ भने केही वडाहरूमा अझै पनि निरन्तर जारी रह्ने जनकपुरधाम उपमहानगरका नगरप्रमुख मनोजकुमार साहले जानकारी दिए ।

उनले नगरभित्र रहेका पशुपालकहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको यो अभियान अन्तर्गत लम्पी स्किन रोगविरुद्धको खोप निःशुल्क प्रदान गरिएको उनले बताए । साथै, प्रभावित क्षेत्रहरूमा पशुहरूको नियमित स्वास्थ्य परीक्षण, उपचार, निगरानी तथा जानकारीसम्बन्धी सेवा पनि दिइँदै आएको छ ।
उपमहानगरपालिकाले पशुधनीहरूलाई समयमै खोप लगाउन, सतर्क रहन र आवश्यक परेमा पशु सेवा शाखासँग सम्पर्क गर्न आग्रह गरेको छ । जनस्वास्थ्य तथा पशु स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने लम्पी स्किन रोग नियन्त्रणमा यस अभियानले सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।