एसपी रिपोर्टर
काठमाणडौं , बैशाख १७ :
प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा समावेश गरिने घोषणा गरेका छन्।
काठमाडौँमा बुधबार आयोजित ‘इन साइट अफ लाइफ २०३०’ नामक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दृष्टि गुमाउने जोखिममा रहेका नागरिकलाई लक्षित गरी आँखा स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य प्रणालीमा समायोजन गरिने बताएका हुन्।उनले दिगो विकास लक्ष्यप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै, प्राथमिक स्वास्थ्य सेवामा आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखिएको जानकारी दिए।प्रधानमन्त्री ओलीले सन् २०२२ मा नेपालमा बच्न सकिने अन्धोपनसम्बन्धी द्रुत मूल्याङ्कन सम्पन्न भएको उल्लेख गर्दै, त्यसले राष्ट्रिय प्राथमिकता निर्धारणमा सहयोग पुर्याएको बताए।उनका अनुसार, सन् २०३० सम्म मोतियाबिन्दुको प्रभावकारी शल्यक्रिया कवरेज ३५.४५ प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्याउने लक्ष्य स्वास्थ्य क्षेत्रको रणनीतिक योजनामा समावेश गरिएको छ।”यो यात्रा कुनै पनि देशले एक्लै तय गर्न सक्दैन,” प्रधानमन्त्री ओलीले भने, “त्यसैले विश्वव्यापी सहकार्य आवश्यक छ।”
प्रधानमन्त्री ओलीले आँखा स्वास्थ्यलाई अब सार्वजनिक स्वास्थ्य पूर्वाधारको अभिन्न अङ्गका रूपमा लिइएको उल्लेख गर्दै, विद्यालय तहबाट दृष्टि परीक्षण तथा नर्स कार्यक्रममार्फत शिक्षामा समानता र लैङ्गिक पहुँच विस्तार गरिएको जानकारी पनि दिए।


