एसपी रिपोर्टर
जनकपुरधाम, चैत १० :
जनकपुरधामको शैक्षिक वातावरणलाई व्यवस्थित र सुदृढ बनाउन कोचिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टर एसोसिएशन गठन गरिएको छ। जनकपुरधामका प्रमुख कोचिङ्ग तथा ट्रेनिङ्ग सेन्टरहरूको छाता संगठनको रूपमा स्थापना भएको यस एसोसिएशनको अध्यक्षमा सत्यम यादव चयन भएका छन्।
शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्दै गैरकानुनी रूपमा सञ्चालन भइरहेका कोचिङ्ग सेन्टरहरूलाई रोक्न आवश्यक पहल गर्ने बताए। उनले कानूनी ढाँचामा रहेर मात्र कोचिङ्ग सेन्टर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
डकटेक एजुकेशनका संजय साहले जनकपुरधामको शैक्षिक माहौल सुधार्न एसोसिएशनको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे। एम्स कोचिङ्गका आर्यन साहले एसोसिएशनको मुख्य उद्देश्य जनकपुरलाई शिक्षाको हबका रूपमा विकास गर्नु रहेको बताए।
हालसम्म ४२ वटा कोचिङ्ग सेन्टर एसोसिएशनमा आबद्ध भइसकेका छन्, जसमा १० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। जनकपुरधाममा कुल ८० वटा कोचिङ्ग सेन्टर सञ्चालनमा रहेको छ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि एसोसिएशनले शिक्षा क्षेत्रको सुधारका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। एसोसिएशनले कोचिङ्ग सेन्टरहरूको व्यवस्थापन, विद्यार्थीहरूको शैक्षिक भविष्य उज्ज्वल पार्ने कार्यक्रम सञ्चालन जस्ता योजना अघि सारेको छ।