एसपी रिपोर्टर
जनकपुरधाम ,फागुन २४ :
जनकपुरधामस्थित श्रीराम सेकेन्डरी बोर्डिङ स्कूलले कक्षा १० का एसईई परीक्षार्थीहरूलाई स्वागत तथा विदाई गरेको छ। प्रत्येक वर्षझैं यस वर्ष पनि विद्यालयले आफ्नो प्रांगणमा विशेष फेयरवेल कार्यक्रम आयोजना गर्दै ‘छिट्टै भेटौला’ भन्ने उद्देश्यले विद्यार्थीहरूलाई सम्मान गरेको हो। विद्यालयका डाइरेक्टर डा. सन्तोष कर्णका अनुसार एसईई परीक्षापछि सोही विद्यालयको कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूलाई स्वागत गरिएको छ भने अन्य संस्थामा जानेहरूलाई विदाई प्रदान गरिएको छ।
उनले यस सम्मानले विद्यार्थीहरूलाई मानसिक रूपमा उत्साहित पार्ने तथा परीक्षामा राम्रो नतिजा ल्याउन प्रेरित गर्ने विश्वास व्यक्त गरे।विद्यालयले वि.सं. २०५७ देखि नियमित रूपमा कक्षा १० का विद्यार्थीहरूको स्वागत तथा विदाई कार्यक्रम आयोजना गर्दै आएको छ। यस अवसरमा कक्षा ९ का विद्यार्थीहरूले एसईई परीक्षार्थीलाई विदाई गरेका थिए। साथै, विद्यालय व्यवस्थापनले विद्यार्थीहरूलाई सम्मान प्रदान गरेको थियो।
कार्यक्रममा विद्यालयका चेयरमैन रामकिशोर कर्ण, डाइरेक्टर डा. सन्तोष कर्ण, कोर्डिनेटर विरेन्द्र लाल कर्ण लगायत शिक्षक-शिक्षिका, पत्रकार तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। उनीहरूले एसईई परीक्षार्थीहरूलाई टिका लगाइदिई दोसल्ला ओढाएर सम्मान गरे। यस वर्ष विद्यालयबाट ४४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्।





