एसपी रिपोर्टर
जनकपुरधाम ,फागुन २४ :
जनकपुरधाममा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित ‘रन फर जनकपुर’ च्याम्पियनशिप दौड प्रतियोगिता सम्पन्न भएको छ। मदर टेरेसा पब्लिक स्कुलको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा ३५० भन्दा बढी प्रतिस्पर्धी सहभागी भए।
प्रतियोगितामा नागेश्वर यादवले प्रथम स्थान हासिल गरे, जबकि मिनमार सिंह तामाङ दोस्रो तथा धनु मानन्धर तेस्रो स्थानमा रहे। विजेताहरुलाई क्रमशः २१ हजार, १५ हजार र ११ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको विद्यालयका निर्देशक अभिषेक कुमार चौधरीले जानकारी दिए।
भानु चोकबाट सुरु भएको दौड कदम चोक, विद्यापति चोक, जीरोमाइल, रामानन्द चोक, हस्पिटल रोड, जानकी चोक, जनक चोक, शिव चोक हुँदै पुनः भानु चोकमा पुगेर समापन भएको थियो।
पुरस्कार वितरण मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले गरेका थिए। मन्त्री जयसवालले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै खेलकुद ऐन बनेसँगै अब गतिविधिहरूलाई तीव्र रूपमा अघि बढाउन कुनै समस्या नहुने उल्लेख गरे।
कार्यक्रममा मधेस प्रदेशसभा सदस्य रामअशिष यादवले मदर टेरेसा स्कुलले पर्यावरण संरक्षण र महिला सुरक्षाको सन्देश दिन प्रतियोगिता आयोजना गरेकोमा खुशी व्यक्त गरे। उनले स्वस्थ जीवनका लागि वातावरण संरक्षण जति आवश्यक छ, त्यति नै समृद्ध समाज निर्माणका लागि महिलाको सम्मान पनि अनिवार्य रहेको धारणा व्यक्त गरे।