एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १६ : जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत मधेसको शैक्षिक अवस्था सुधार गर्न माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरिएको छ। सप्तरीस्थित इन्टलेक्चुअल फाउन्डेसन नेपालले आज राजविराजमा ज्ञापनपत्र बुझाउँदै शिक्षा सुधारका लागि पहल गर्न अनुरोध गरेको हो।फाउन्डेसनले मधेसको शिक्षा कमजोर हुनुका १३ कारण औंल्याएको छ, जसमा विद्यालय व्यवस्थापनमा राजनीतिक हस्तक्षेप, शिक्षक दरबन्दी अभाव, तीनै तहका सरकारको उदासीनता, बजेटको अपर्याप्तता, नातावाद–कृपावाद, भौतिक पूर्वाधारको अभाव, र मातृभाषा शिक्षालाई प्राथमिकता नदिनु प्रमुख कारण रहेका छन्।
फाउन्डेसनका अध्यक्ष डा. सूर्यप्रसाद यादवले सङ्घीय सरकारले कूल बजेटको २५%, प्रदेश सरकारले २०% र स्थानीय सरकारले १५% शिक्षा क्षेत्रमा लगानी गर्न बाध्यकारी कानुन बनाउनुपर्ने माग गरेका छन्।राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशको साक्षरता दर ६३.५५% मात्र छ, जुन कर्णाली प्रदेशको ७६.१% साक्षरता दरभन्दा पनि कम हो। नेपाल संविधानले शिक्षा पाउने हक सुनिश्चित गरे पनि तीनै तहका सरकारले प्राथमिकता नदिएको गुनासो गर्दै यादवले अध्यक्ष प्रचण्डलाई शिक्षा सुधारका लागि पहल गर्न आग्रह गरे।





