एसपी रिपोर्टर
जनकपुरधाम, साउन १० :
महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ४ लाई पूर्ण विद्यालय भर्ना वडा घोषणा गरिएको छ । सेभ द चिल्ड्रेन, एफसिए तथा रतौली युवा क्लवको सहयोगमा पिपरा गाउँपालिकालाई पूर्ण विद्यालय भर्ना पालिका घोषणा गर्ने अभियान अन्तर्गत पिपराको वडा नम्बर १ र ४ लाई पूर्ण विद्यालय भर्ना वडा घोषणा गरिएको हो । सो वडाहरुलाई पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले एक कार्यक्रमका बिच पूर्ण विद्यालय भर्ना वडा घोषणा गरेका हुन् । यो अभियान अन्तर्गत पिपरा गाउँपालिकाको वडा नम्बर २, ३ र ५ लाई पहिले नै पूर्ण विद्यालय भर्ना वडा घोषणा गरि सकिएको छ ।
घोषणा समारोहलाई सम्बोधन गर्दै पिपरा गाउँपालिकाका अध्यक्ष यादवले शिक्षा सबै नागरिकका लागि नैसर्गिक अधिकार रहेको बताए । शिक्षित जनता नभए त्यस्तो व्यक्ति देशकै लागि बोझिलो बन्ने भएकाले सम्पूर्ण बालबालिकालाई विद्यालय पठाउन अभिभावकलाई आग्रह गरे । विद्यालय तहको शिक्षा निःशुल्क भएकाले कमजोर आर्थिक अवस्था भएका अभिभावकले समेत कुनै बहानामा बालबालिका लाई विद्यालय जानबाट बञ्चित गर्न नहुने उनको भनाई थियो ।
पिपरा गाउँपालिकाका शिक्षा संयोजक राजकिशोर झाले यो भर्ना अभियान अन्तर्गत एकै पटक विद्यार्थी भर्ना गरेर हुँदैन । नियमित रुपमा भर्ना प्रकृयालाई अगाडी बढाउनका लागि स्थानीय पालिका, स्थानीयवासी तथा शिक्षकहरुलाई निरन्तर लागि पर्न आग्रह गरे । उनले बालबालिकालाई मात्रै नभई लेखपढ गर्न नजान्ने स्थानीयलाई समेत साक्षर बनाउनका लागि पालिकाले योजना ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
पूर्ण विद्यालय भर्ना वडा घोषणा कार्यक्रममा वडा नम्बर १का वडाध्यक्ष राजेशकुमार दास, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, विभिन्न विद्यालयका शिक्षक, स्थानीयवासी र रतौली युवा क्लवका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।