एसपी रिपोर्टर
जनकपुरधाम, असोज १२ :
महोत्तरीको भंगहा नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर नभएको भन्दै नगरप्रमुख सञ्जीवकुमार साहले नगरपालिका कार्यालयसहित ९ वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न माग गर्दै नगरप्रमुख साहले यसअघि तीन दिनभित्र अत्यावश्यक सेवाबाहेक नगरपालिकाका सम्पूर्ण कामकाज बन्द गर्ने चेतावनी दिएका थिए । उक्त अल्टिमेटम सकिएपछि सोमबार उनले नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दीपछि नगरपालिकाका सबै कार्यालयका चाबी नगरप्रमुख साहले महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन् । उनले तत्काल प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराई प्रशासनिक, वित्तीय तथा नियमित सेवा प्रवाह सुचारु गर्न माग गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय तह कर्मचारी प्रशासन शाखाले गत भदौ १ गते खिमराज भुसाललाई भंगहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो । तर, मन्त्रालयबाट खटाउने पत्र आएको लामो समय बितिसक्दा पनि भुसाल कार्यालयमा हाजिर नभएको नगरप्रमुख साहको दाबी छ ।
प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न आफूले पटक–पटक मन्त्रालय पुगेर पहल गरे पनि समस्या समाधान नभएको साहले बताएका छन् । मन्त्रीसँग प्रत्यक्ष भेटेर समस्या राख्ने प्रयास गरे पनि भेट हुन नसकेको र स्वकीय सचिवमार्फत जानकारी गराउँदा समेत समाधानका लागि ठोस पहल नभएको उनको गुनासो छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगर कार्यपालिकाका निर्णय कार्यान्वयन, प्रशासनिक तथा वित्तीय काम प्रभावित भएको नगरप्रमुख साहले बताएका छन् । कर्मचारीको तलबभत्ता, विकास योजनाको कार्यान्वयन तथा दैनिक सेवा प्रवाहमा समेत समस्या देखिएको उनको भनाइ छ ।
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा नगरपालिकाको कामकाज प्रभावित भइरहेकाले तत्काल समस्या समाधान गर्नुपर्ने साहले बताएका छन् । माग सम्बोधन नभए थप कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत उनले दिएका छन् ।