एसपी रिपोर्टर
जनकपुरधाम, असोज ९ :
महोत्तरीमा अविरल वर्षाका कारण आउन सक्ने बाढी, डुबान र नदी कटानको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले पूर्वतयारी तीव्र बनाएको छ।
शुक्रबारदेखि आइतबारसम्म अविरल वर्षा हुने पूर्वानुमानपछि सम्भावित बाढी तथा कटानको जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न गैरसरकारी संघसंस्थासँग समन्वय गरी तयारी अघि बढाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो।
उहाँका अनुसार जिल्लाका रातु, बिघी, बडहरी, जंघा, मडहा लगायतका नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनारका बस्तीमा सचेतना फैलाउने काम भइरहेको छ। जोखिममा रहेका क्षेत्रका बासिन्दालाई समयमै सूचना दिन माइकिङलगायतका गतिविधि सञ्चालन गरिएको उहाँले बताउनुभयो।
बाढीका कारण विस्थापनको अवस्था आउन सक्ने भएकाले उद्धारदेखि विस्थापितको पुनःस्थापनासम्म आवश्यक पर्ने तयारी गरिएको प्रजिअ यादवले जानकारी दिनुभयो।
सम्भावित बाढी तथा डुबानबाट प्रभावितको उद्धारका लागि लाइफ ज्याकेट, लाइफ ब्वाय, डोरी, रबर बोट वा डुंगा, बन्चरो, स्ट्रेचर, टर्चलाइटलगायत खोज तथा उद्धार सामग्री तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
त्यस्तै, बाढीका कारण सडक तथा बाटोघाटो अवरुद्ध भए तत्काल खुलाउन जेसीबी, एक्साभेटर, लोडरलगायत हेभी उपकरणलाई चौबीसै घण्टा परिचालन गर्न सकिने गरी ‘स्ट्यान्डबाइ’ अवस्थामा राख्नसमेत निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले सम्भावित विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वयलाई समेत प्राथमिकता दिएको जनाएको छ।