एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १ :
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको कुटपिट घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै छानबिन गरी दोषीलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
प्रहरीको कुटाइबाट घाइते भएका अध्यक्ष भण्डारीलाई शनिबार बिहान अस्पताल पुगेर भेटेपछि मुख्यमन्त्री सोनलले प्रदेश प्रहरी प्रमुखलाई सम्पर्क गर्दै घटनाबारे छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न आदेश दिएका हुन्।
शुक्रबार राति जनकपुरको सोनारपट्टीस्थित सुनचाँदी पसलमा जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले छापा मार्ने क्रममा व्यापारीहरूसँग विवाद भएको थियो। सोही क्रममा प्रहरी र सुनचाँदी व्यवसायीबीच झडप हुँदा अध्यक्ष भण्डारी घाइते भएका थिए।
स्थानीय व्यवसायीहरूले दीपावलीको समयमा राति अचानक छापा मारेर व्यवसायमा हस्तक्षेप गर्ने कार्यप्रति आपत्ति जनाउँदै प्रतिकार गरेपछि विवाद चर्किएको बताइएको छ।





