एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ :
गुठी संस्थानसँगको सम्झौतामा प्राप्त जग्गा बारे विवाद बढेपछि वकिलहरुले गरेको सांघातिक आक्रमणबारे राष्ट्रिय मानव अधिकार आयोग, मधेस प्रदेश कार्यालयले अनुसन्धान सुरु गरेको छ ।
आयोगका मानव अधिकार अधिकृत किरण घिमिरे, राहुल कुमार ठाकुर र सूचना प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झा सहितको टोलीले नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यालय पुगेर विस्तृत जानकारी संकलन गरेको हो । टोलीले अन्य घाइते तथा प्रत्यक्षदर्शीहरूसँग पनि जानकारी लिएको छ । नेपाल बार एसोसिएसन जनकपुरधामका अधिवक्ताहरूको कुटपीटबाट महासंघका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिल कुमार निरालाको आँखामा चोट लागेको र दिवाकर राईको टाउकोमा गम्भीर चोट लागेको जानकारी दिइएको छ ।
त्यस्तै पत्रकार ज्योति झा र बिनीता यादवसँग लैङ्गिक संवेदनशीलता विपरीत दुव्र्यवहार गरिएको विवरण पनि महासंघले आयोगलाई दिएको छ ।
महासंघले घटना छानबिन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न आयोगसँग आग्रह गरेको छ ।
घटनाबारे जानकारी लिन मिडिया काउन्सिल, आम सञ्चार प्राधिकरण र इन्सेक मधेस प्रदेशका प्रतिनिधिहरूले पनि घाइते पत्रकारसँग भेटघाट गरेका छन् ।