एसपि रिपोर्टर
जनकपुरधाम, जेठ ८
: धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–५, बनिनियाँमा भएको जघन्य कर्तव्य ज्यान घटनामा फरार रहेका अभियुक्त हरिराम यादवलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, २०८१ साल फागुन १७ गते दिउँसो १ बजे ४० वर्षीय हरिराम यादवले आफ्नी २५ वर्षीया श्रीमती अंजली यादवलाई कुटपिट गर्दै घरबाट निकालेर सम्पर्कविहीन भएका थिए। केही दिनदेखि हरिराम सम्पर्कमा नरहेको र उनको घरमा ताला लागेको सूचनाका आधारमा स्थानीयवासीले शंका व्यक्त गर्दै प्रहरीलाई खबर गरेका थिए।प्रहरी टोलीले तालाबन्दी गरिएको घर खोली जाँच गर्दा, भुइँतल्लामा रहेको कुलदेवताको पूजाकोठामा नयाँ सिमेन्ट ढलान गरिएको पाइएको थियो। उक्त स्थानमा उत्खनन गर्दा करिब दुई फिट मुनिबाट अंजली यादवको नाङ्गो अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ।घटनापछि यादव करिब १० महिनाकी छोरीसहित फरार थिए। मृतक अंजलीका पिता शिवधारी यादवले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेपछि घटनामा हरिरामको संलग्नता पुष्टि भएको थियो।जाहेरीका आधारमा जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति प्राप्त गरी जारी खोजीक्रममा २०८२ साल जेठ ८ गते बिहान ९ बजे जनकनन्दनी गाउँपालिका–४ स्थित खजुरी रेल्वे स्टेशनबाट यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको तथा यादवसँगै फरार भएकी छोरीको अवस्थाबारे पनि खोजी जारी रहेको प्रहरीको भनाइ छ।