एसपि रिपोर्टर
जनकपुरधाम, जेठ ८ : मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिस सिंहले प्रदेशका कर्मचारीहरूमा काम गर्ने मनसाय कम देखिएको बताएका छन् । अर्थ मन्त्रालयको आयोजनामा राखिएको विनियोजन विधेयक २०८२ को लागि मस्यौदाका लागि सुझाव सङ्कलन कार्यक्रममा मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन ।बिहीबार बिहान भौतिक मन्त्रालयको सभाकक्षमा आयोजित सुझाव सङ्कलनमा पछिल्लो समयमा प्रदेशका हरेक मन्त्रालयमा कार्यरत कर्मचारीहरू काम गर्ने मनसाय एकदम कम देखिएको बताए । कर्मचारीहरूको ढिलासुस्तीले प्रदेश सरकारको कामकारबाहीमा प्रश्न उठिरहेकाले यो आचरणलाई तत्काल सुधार गर्न उनले निर्देशन समेत दिए । कार्यक्रममा सहभागी सचिवहरूलाई मुख्यमन्त्री सिंहले भने, यो प्रवृत्तिले प्रदेश सरकारको पर्फमेन्समाथि नै प्रश्न उठ्छ, त्यसकारण यसलाई तपाइहरू सुधार गर्नुस् । बरु उत्कृष्ट काम गर्ने कर्मचारीलाई मनोबल बढाउनका लागि पुरस्कारको व्यवस्था गर्नुस्, त्यसमा प्रदेश सरकारले सबै सहयोग गर्छ । अनि लापरबाही गर्ने कर्मचारीहरूको घटुवा हुने व्यवस्था गर्नुस्, तब मात्रै यो समस्या समाधान हुनेछ ।ुकार्यक्रममा सहभागी अर्थमन्त्री सुनिल यादवले कार्यविधिको कारणले बजेट खर्च हुन नसकेको प्रस्ट्याए । सबै सचिवहरूबाट प्राप्त महत्त्वपूर्ण सुझावलाई आत्मसात् गरेर कार्यविधि तयार गरिने जनाए ।रकमान्तर, आयोजना तथा कार्यक्रमको संशोधन, एकमुष्ट विनियोजित बजेटको बाँडफाँट, नयाँ योजना तथा कार्यक्रम, बजेट निर्माण , कार्यविधि निर्माण गर्ने अधिकार, विगतको बक्यौता रकमसहितका १० वटा एजेन्डामाथि छलफल भएको थियो । जसमा सचिवहरूले आफ्नो राय तथा सुझाव मुख्यमन्त्री सिंहलाई टिपाएका छन् । कसरी विनियोजन विधेयक तयार गर्ने ? त्यसमा सङ्घीय नीतिलाई मध्यनजर गरेर जान सचिवहरूले सुझाए दिएका छन् ।





