एसपि रिपोर्टर
जनकपुरधाम, जेठ ८
: सिराहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो नवराजपुर) नामक पाठ्यपुस्तक तयार गरी २० वटै सामुदायिक विद्यालयमा पठनपाठन गराउन सुरु गरेको हो ।गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवका अनुसार एक सय पूर्णाङ्कसम्मको स्थानीय भाषामा पाठ्यपुस्तक तयार गरेर पढाउन पाइने प्रावधानअनुसार पाठ्यपुस्तक तयार गरी लागू गरिएको हो । आगामी वर्षको शैक्षिक सत्रदेखि कक्षा ६ सम्म स्थानीय भाषाको पाठ्यक्रम तयार गरी कार्यान्वयन गरिने उनले जानकारी दिए ।अध्यक्ष यादवले भने, ‘अहिले कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यपुस्तक लागू गरेका छौँ । संविधान अनुसार मौलिक भाषा, कला र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्ने दायित्व स्थानीय तहको भएकाले सोहीअनुरुप काम गरिएको हो । आगामी शैक्षिक सत्र २०८३ मा कक्षा ६ मा पनि मातृभाषामा पठनपाठन गराउने योजना अनुरूप पाठ्यपुस्तक छपाइको तयारी गरिएको छ ।’पाठ्यपुस्तकमा नवराजपुर गाउँपालिकाको भूगोल, संस्कृति, परम्परा, जनजीवन, प्राकृतिक सम्पदा, पर्यटन, कृषि, पशुपालन, स्थानीय घरेलु प्रविधिलगायत विषयवस्तु समावेश गरिएका अध्यक्ष यादवले जानकारी दिए । पछिल्लो समय बालबालिकालाई सहर बजार लगेर पढाउने प्रचलन बढेपछि स्थानीय भाषा र संस्कृति सङ्कटमा पर्न सक्ने भएकाले त्यसको संरक्षणका लागि माटो सुहाउँदो पाठ्यपुस्तक बनाएर विद्यालयमा पढाउन थालिएको उनको भनाइ छ ।अङ्ग्रेजी भाषाको मोहका कारण स्थानीय भाषा सङ्कटमा परिरहेको अवस्थामा गाउँपालिकाले मातृभाषामा पाठ्यक्रम निर्माण गरी पठनपाठन सुरु गर्नु प्रशंसनीय रहेको मैथिली साहित्य परिषद् सिराहाका संयोजक रामरिझन यादवले बताए । अन्य स्थानीय तहले पनि आफ्नो भाषा, कला, संस्कृतिको संरक्षण र संवर्द्धनमा यस्तो कार्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।