एसपि रिपोर्टर
काठमाणडौं, जेठ ७ : पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गर्नेहरू विरुद्धको अनुसन्धान प्रहरीले पूरा गरेको छ । काठमाडौँ प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
बुधबार साँझसम्म प्रतिवेदन बुझाउने तयारी भइरहेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ८ जना विरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने राय दिएको छ । दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनीका गरेको कारण प्रेम बहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षति भएको थियो । आगजनीमा परेर पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।आगजनीमा संलग्न रामेछापको सुनापति गाउँपालिका घर भएका २२ वर्षीय सरोज गौतम, अछाम पञ्चदेवल नगरपालिका–५ घर भएका २० वर्षीय गोकर्ण शाही उर्फ अनुप विक्रम ठकुरी र दुर्गा प्रसाईं सहित ८ जनालाई ज्यान सम्बन्धी कसुरमा प्रतिवादी कायम गर्नुपर्ने प्रहरीको राय छ ।अनुसन्धान अधिकृतहरूले प्रतिवेदनलाई अन्तिम रूप दिइरहेका छन् । आरोपीहरू विरुद्ध प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध मुद्दामा अभियोजन गर्नुपर्ने राय आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकामध्ये राज्य विरुद्धको कसुरमा म्याद थप भएका २६ जना र आपराधिक उपद्रव मुद्दामा म्याद थप भएका २७ जना हिरासतमा छन् । अन्य आरोपीहरूलाई प्रहरीले यसअघि अनुसन्धान पुरा गरेर हाजिर जमानीमा रिहा गर्दै आएको थियो ।





