एसपि रिपोर्टर
सर्लाही, जेठ ५ : सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ८ स्थित उखुबारीमा एक युवकको शव सडिसकेको अवस्थामा फेला परेको छ ।

उक्त शव चन्द्रनगर गाउँपालिका वडा नं. १ किसनपुर निवासी २८ वर्षीय अरविन्द कुमार पण्डितको भएको उनका दाजु अशोक कुमारले सनाखत गरेका छन् ।वैशाख २४ गते घरबाट बेपत्ता भएका अरविन्दको हत्या गरेको आरोपमा प्रहरीले ईश्वरपुर नगरपालिका वडा नम्बर ६ का ६ जनालाई पक्राउ गरेको सोमबार मलंगवामा जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।पक्राउ पर्नेमा उक्त वडा, चिरानटोल निवासी ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, सोही ठाउँका २९ वर्षीय मोस्तकिम अन्सारी, २५ वर्षीया नजिमा खातुन, ४० वर्षीय सुयब अन्सारी, २५ वर्षीय कोनुर आलम अन्सारी र ५४ वर्षीय सलाउद्दिन अन्सारी रहेका छन् ।अरविन्दले आफ्नी श्रीमती (नजिमा खातुन) लाई भगाएको भन्दै ईश्वरपुर–६ चिरानटोलकै मोस्तकिम अन्सारीले चैत २६ गते इलाका प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएका थिए । नजिमा चैत १९ गते राति ११ बजे घरबाट बेपत्ता भएकी थिइन् ।मोस्तकिमले दिएको निवेदनका आधारमा खोजी गर्दै जाँदा प्रहरीले नजिमा र अरविन्द भारत पुगेको फेला पारेको थियो ।वैशाख १९–२० गते उनीहरू नेपाल फर्किएका प्रहरीको अनुसन्धानले देखाएको छ । उनीहरू घर फर्किएपछि स्थानीय समाज र पञ्चहरूको सहमतिमा नजिमा श्रीमान् मोस्तकिमसँगै बस्न थालेकी थिइन् । तर अरविन्द पण्डित बारम्बार नजिमाको घर आउजाउ गरिरहन्थे ।अरविन्द आफ्नो घरमा आउजाउ गर्न थालेपछि स्थानीयहरूले समेत शंका गर्न थालेका थिए । जसका कारण नजिमा मानसिक तनावमा पर्दै जान थालिन् । सोही तनावका कारण नजिमासहित अन्य प्रतिवादीहरूले अरविन्दको हत्या गर्ने योजना बनाएका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।प्रहरीका अनुसार नजिमाले वैशाख २८ गते बिहान ८ बजे फूलजोर बाबा मन्दिर नजिकै पण्डितलाई बोलाएकी थिइन् । र अरविन्दलाई फूलजोर खोला नजिक लिएर गइन् । उनलाई अन्य प्रतिवादीहरूले पछ्याए । र बिहान ९ बजेतिर मिलेर हत्या गरे । त्यसपछि शवलाई सिसौको रूखको फेदमा घाँसपात र रहरको घस्यौटाले छोपिदिएका इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक उमाकान्त जोशीले रातोपाटीलाई बताए ।फेरि भोलिपल्ट अर्थात् वैशाख २९ गते राति ९ बजे घटना सार्वजनिक हुने डरले उनीहरू घटनास्थल पुगे । र शवलाई उक्त स्थानबाट ईश्वरपुर नगरपालिका वडा नं. ८ स्थित थकरिया चौरीको उखुबारीमा लगेर फालिदिए ।प्रहरीले जेठ २ गते सबै प्रतिवादीहरूलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा पक्राउ परेका मोहम्मद हुसेन मोमिनको खुट्टामा रहेको चप्पल मृतकले प्रयोग गर्दै आएको चप्पल भएको पुष्टि मृतकका पिताबाट भएको प्रहरीको भनाइ छ ।पक्राउ परेका सात जनालाई सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।