एसपि रिपोर्टर
काभ्रे, जेठ ३ : काभ्रेको धुलिखेलमा विद्युतका एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

धुलिखेल नगरपालिका- ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा काम गरिरहेका सर्लाही ईश्वरपुरन नगरपालिकाका-१२ घारिबथानका २८ वर्षीय उपेश नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।११ हजार भोल्टको हाइट्रेसन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मिन घलेले बताए ।तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ । उनलाई विद्युत प्राधिकरणले नै काममा लगाएको थियो ।शुक्रबार मात्रै विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो । त्यसैले सावधानी अपनाउन भनेको थियो । तर, कार्यालयकै असावधानीले एक जना मजदुरको मृत्यु भएको छ ।मृतक उपेशको शवलाई पोलबाट निकालेर पोस्टमार्टमको लागि धुलिखेल अस्पताल पठाएको छ ।

घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा टोली खटाइएको छ ।