एसपि रिपोर्टर
काठमाणडौँ , जेठ २ : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन अहिलेको समयको सबैभन्दा ठूलो चुनौति भएको बताएका छन् ।

जलवायु परिवर्तनको असर बढ्नुमा नेपालको भूमिका नरहे पनि नेपाललै सबैभन्दा बढी क्षति व्यहोरिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।‘सगरमाथा संवाद’को उदघाटन सत्रलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले पृथ्वी, जनता, समृद्धिमा ठूलो प्रभाव पारेको बताए ।जलवायु परिवर्तनबाट कुनै पनि समाज पूर्णरुपमा सुरक्षित नरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने ‘जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन । यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो ।’‘यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन । तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हिमनदीहरू पग्लिरहेका छन् । वर्षा अनिश्चित बन्दै गइरहेको छ । पहिरोहरूले घर–बास बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् । तर अझै हामी डटिरहेका छौं ।’उनले वातावरण संरक्षणमा नेपालको योगदान महत्वपूर्ण रहेको बताए । पृथ्वी, महासागर र मानवता जोगाउन हिमालहरू जोगाउनु आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताए ।