एसपि रिपोर्टर
जनकपुरधाम, बैशाख ३१ : धनुषा र महोत्तरी जिल्लालाई जोड्ने धार्मिक एवं सांस्कृतिक महत्त्वको दुधमती नदीको संरक्षण, उत्खनन र विकास कार्यलाई तीव्र बनाउन समितिहरू गठन गर्ने निर्णय गरिएको छ।

मधेश प्रदेश सरकारअन्तर्गत ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवको सक्रियतामा यो आयोजना प्रदेश सरकारको गौरवको आयोजना स्वरूप अघि बढाइएको हो। कार्यविधि पारित भई नक्सांकन र सीमांकनको काम सम्पन्न भइसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ।बुधबार बसेको दुधमती नदी उत्खनन तथा विकास कार्य उपसमितिको बैठकले परियोजना व्यवस्थापन, प्राविधिक सल्लाह र प्रचारप्रसारका लागि छुट्टाछुट्टै समिति गठन गर्ने निर्णय गरेको हो।दुधमती नदी उत्खनन तथा विकास कार्यविधि, २०८१ को दफा ७ (ख) बमोजिम व्यवस्थापन समिति, प्राविधिक समिति र प्रचारप्रसार समिति गठन गरिने जानकारी दिइएको छ।यी समितिहरूले आयोजनाका सम्भावित प्राविधिक चुनौती र जोखिमको पहिचान गर्दै समाधानका सिफारिसहरू गर्नेछन्। साथै, दुधमती नदीको ऐतिहासिक, पुरातात्त्विक र धार्मिक पक्षलाई उजागर गर्दै पर्यटकीय गन्तव्यका रूपमा देश-विदेशमा प्रचारप्रसार गर्ने जिम्मेवारी पनि उनीहरूकै हुनेछ।समितिका पदाधिकारीको नियुक्ति, कार्यक्षेत्र र पारिश्रमिकसम्बन्धी निर्णय उपसमितिको आगामी बैठकबाट गरिने जानकारी उपसमिति संयोजक मन्त्री यादवले दिएका छन्। साथै, आयोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नदीको उद्गमस्थलनजिकै आयोजना कार्यालय स्थापना गर्ने सिफारिस पनि मन्त्रालय समक्ष गरिएको छ।बहुवर्षीय स्वीकृत योजना अनुसार निर्धारित समयमा आयोजनालाई सम्पन्न गर्न आवश्यक बजेट आउँदो आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकताका साथ समावेश गरिने निर्णय गरिएको छ।

बैठकमा उपसमितिका सदस्यहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, मालपोत कार्यालय, सहायक प्रमुख जिल्ला अधिकारी, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर तथा उपमेयर, लक्ष्मिनिया गाउँपालिकाका उपमेयर र विभिन्न वडाध्यक्षहरूको उपस्थिति रहेको थियो।