एसपि रिपोर्टर
रौतहट , बैशाख ३० : रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै एकजना महिलाको शङ्कास्पद मृत्यु भएको छ। माइती पक्षले दाइजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाहीको माग गरेका छन ।

कटहरिया ३ बड़ेरवा टोलमा घर भई हाल कटहरिया ५ बस्ने अरमान राय भाटको श्रीमती २१ वर्षीया सानीया प्रविनको शंकास्पद मृत्यु भएको हो। आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको प्रहरीले जनाएको छ।मृतककी आमाका अनुसार सानीयाको विवाह करिब ६ महिना अघिमात्र अरमानसँग मुस्लिम परम्परा अनुसार भएको थियो।विवाहपछि ज्वाइँले निरन्तर दाइजोको लागी सानियालाई अनेक प्रकारको शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए ।ज्वाइँ तथा उनको परिवारले योजनाबद्ध तरिकाले सानियाको हत्या गरी आत्महत्या देखाउन खोजेको कायमाले दाबी गरेकी छिन्।घटनामा संलग्न अरमानसहित सबैलाई पक्राउ गरी कडा कारवाहीको माग सानियाको माइती पक्षले गरेको छ। माइती पक्षले छोरीको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटना विरुद्दको जाहेरी हालसम्म दर्ता नभएको तथा घटना शंकास्पद भएको संकेत दिएका छन्।उनले घटनाको अनुसन्धानपछि मात्र यकिनका साथ भन्नसक्ने र कानुनी प्रक्रिया अगाडि बढाइने बताएका छन्।