सपना कर्ण
जनकपुरधाम, बैशाख २९ :
एक साता मात्रै भएको छ जनकपुरधामवासीसहित पूरै मिथिलाञ्चलले हर्षोल्लासपूर्वक जानकी नवमी पर्व मनाए । त्रेतायुगमा माता सीता वैशाख शुक्ल पूर्णिमाकै जन्मिएको वाल्मिकी रामायणमा उल्लेख छ । सोही स्मरणमा मिथिलावासी प्रत्येक वर्ष यस दिन जानकी प्राकट्य दिवस मनाउने गर्छन् ।
नेपालले माता सीतालाई नेपालको छोरी, नेपालको विभूति सहितको दर्जा दिएपनि उनै सीताको प्राकट्य दिवसमा सार्वजनिक विदा नदिने विषयले मिथिलावासीलाई खट्किनु स्वभाविक नै हो ।

जबकि बैशाख २९ आज(सोमबार) बुद्धजयन्ती र उभौली पर्वको देशभर सार्वजनिक बिदा दिइएको थियो । बुद्धजयन्ती र उभौली पर्व छुट्टा–छुट्टै दिन परेको भएपनि यी दुबै पर्वमा राष्ट्रिय बिदा दिइन्थ्यो । यसपालि संयोगले यी दुबै पर्व एकैदिन पर्न गयो । बुद्ध जयन्ती वा उभौली पर्वमा विदा नहोस भन्ने मेरो भनाई होइन तर वर्षोदेखि जानकी नवमीका दिन राष्ट्रिय विदाको माग गर्दै आएका जनकपुरधामवासीको मागलाई पनि सम्बोधन गर्नुपर्ने थियो मात्र मेरो अभिप्राय हाे।

एउटै देशमा जन्मेका दुई धरोहर सीता र बुद्धलाई विश्वले नै आदर्श मानेर पूजा गर्छन । त्यागी, सहनशिल र आदर्श नारी हुन् सीता । शान्ति, सत्य र मौनताका प्रतिक हुन् गौतम बुद्ध । सीता जन्मिएको प्रसङबारे रामायणमा यसरी उल्लेख गरिएको छ,‘प्रचण्ड गर्मीसंगै खडेरीले मिथिलामा पानीको हाहाकार थियो । अनाजका बिउ सिंचाईअभावले खेतमै सुक्न थालेको थियो । पानीका लागि प्रजाबाट राजा जनकलाई खेतमा हलो जोत्न आग्रह गरियो । महायज्ञ लगाउदै राजा जनकले खेत जोत्न जाँदा सीता माता प्रकट भएकी थिइन् ।’
सीताको लालनपालन, शिक्षा र स्वयंवर विवाहलगायत प्रसङ रामायणमा उल्लेख छ । जानकी मन्दिरमा सीताको दर्शन र पूजापाठ गर्न नेपाल, भारत मात्र होइन, विश्वभरका धर्मालम्बी जनकपुर आइपुग्छन् । जानकी मन्दिरसंग जनकपुरवासीको धार्मिक सम्बन्ध मात्र जोडिएको छैन्, दैनिक आउने हजारौं पर्यटकका कारण धेरैको आयआर्जनको माध्यम पनि बनेको छ ।

त्रेतायुगमा जनकपुर–अयोध्याविच जोडिएको सम्बन्ध, सीताको गाथा, जनकपुरको जानकी मन्दिरको बैभवको आफ्नै इतिहास र गौरव छ । भगवान बुद्ध पनि नेपालकै धरोहर हुन् यसमा कुनै शंका छैन । तर एउटा धरोहरको जन्म दिवसलाई राष्ट्रियकरण गरेर अर्को धरोहरको जन्म दिवसलाई बेवास्ता गर्नुले विभेदको गन्ध आउँछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितीमा आज लुम्बिनीमा सार्वजनिक बिदाका बिच बुद्ध जयन्ती मनाइयो । जानकी नवमीमा पनि सार्वजनिक विदाकाबीच प्रधानमन्त्री यसै गरी आफ्नो मन्तव्य राखेर जानकी नवमीको शुभकामना दिँदा क्या मज्जा हुन्थ्यो ।

सिता र बुद्ध नेपालकै सन्तान हुन । तर, छोराको जन्मोत्सवजस्तै छोरीको पनि धुमधामसंग मनाउने वातावरण राज्यले बनाउनु पर्दछ । अर्को, वर्षको जानकी नवमी सार्वजनिक विदाकाबीच मनाउन पाउँ यही हाम्रो ध्येय हो । नभए राज्यलाई बारम्बार यो प्रश्न सोधिने छ पर्वमा पनि किन विभेद ? अनि यो प्रश्यले नेतृत्वमा बसेकाहरुलाई बारम्बार घोचिरह्ने छ ।