एसपि रिपोर्टर
जनकपुरधाम, बैशाख २९ : बिहे भोजमा खाजा खाँदा धनुषाधाममा सय जनाभन्दा बढी बिरामी भएका छन् । धनुषाको मिथिला विहारी नगरपालिका-८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित सय जना भन्दा बढी बिरामी भएका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार राति जनकपुर उपमहानगरपालिका-२३ बिन्धीबाट ठेरा कचुरीमा जन्ती पुगेको थियो । स्वयम्बर सकिए लगतै खाजामा बुनियाँ, रसबरी लगायतका मिठाइ खुवाइएको थियो ।खाजा खाएलगतै पेट दुख्ने, बान्ता हुने, कमजोर हुने क्रम चलेको प्रमुख यादवले जानकारी दिए ।४५ जना भन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको क्लिनिक तथा अन्य अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताए । केही भने उपचारपश्चात निको भएर घर समेत फर्किएका छन् ।‘खाजामै प्वाइजन भएर बिरामी परेको हाम्रो अनुमान छ । घटनास्थल पुगेर हामीले खाजाको स्पाम्पल ल्याएका छौं । ल्याबमा परीक्षण गरेर के कारणले भएको हो भन्ने पुष्टि हुन्छ,’ यादवले भने ।