एसपि रिपोर्टर
जनकपुरधाम, बैशाख २९ :
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मेयर सुखदेव यादव र उपमेयर रचना माथेमाबीचको विवादले पालिकाकाे कामकाज प्रभावित भएको छ। दुवै जनाकाे आन्तरिक व्दन्दले नगरपालिकाको विकास निर्माण कार्य ठप्पजस्तै भएको छ।दुवैले जनाले एक अर्का अर्कामाथि विकासमा अवराेध सृजना गरेकाे आराेप लगाएका छन ।
उपमेयर माथेमाले मेयर यादवमाथि विकास निर्माणमा अवरोध पुर्याएको आरोप लगाएकी छन्। यता, मेयर यादवले भने उपमेयर माथेमामाथि पार्टीको प्रभावमा परी अनावश्यक रूपमा विवाद सिर्जना गरेको आरोप लगाएका छन्।
आइतबार पत्रकार सम्मेलन गर्दै मेयर यादवले उपमेयर नै नगरपालिकाको काममा मुख्य बाधक रहेको दाबी गरे। उनले भनिन्, “म विकासका कामहरू अघि बढाउन चाहन्छु तर उपमेयर कांग्रेस जिल्ला अध्यक्षसमेत रहेका पूर्व मेयर योगेन्द्र पजियारको निर्देशनमा मलाई काम गर्न अवरोध गरिरहेकी छन्।”
उपमेयरले केही दिनअघि लगाएको आरोपको खण्डन गर्दै यादवले भने, “म त दैनिक नगरपालिका आइरहेको छु, तर उपमेयर तीन–तीन महिनामा मात्र तलब भत्ता बुझ्न आउँछिन्। बाँकी समय काठमाडौंमै बस्छिन्। यस्तो व्यक्तिले मलाई कसरी काम नगर्ने भन्न सक्छ?”
यादवका अनुसार न्यायिक समिति र राजश्व संकलन समितिको संयोजक उपमेयर स्वयं भए पनि ती समितिहरू निष्क्रिय छन्। “तीन वर्षमा उपमेयरले न्यायिक समितिको तीनवटा मुद्दाको पनि निर्णय गर्न सकिनन्, जबकि त्यहाँ थुप्रै मुद्दा छन्,” उनले आरोप लगाए।
राजश्व संकलनमा कमजोरीको आरोप पनि उनले उपमेयरतर्फ मोड्दै भने, “पुसमा सभा सम्पन्न भइसक्दा पनि उपमेयरले फाइल सदर नगरेका कारण बालुवा गिट्टीको ठेक्का लाग्न सकेन, राजश्व संकलन रोकियो।”
मेयर यादवले आफूले नेतृत्व गरेको कार्यकालमा ७ करोडको लागतमा दुर्गा माविको भवन, डेढ करोडमा वडा नं. १ मा ब्याडमिन्टन हल, १० करोडको लागतमा सखुवा बजारमा कोल्ड स्टोर, ७५० जनाको क्षमताको सभा हल निर्माण, कृषकलाई निःशुल्क विद्युतजस्ता ठोस विकासका कार्यहरू भएको दाबी गरे। उनले अघिल्ला मेयरले यस्ता ठोस काम देखाउन चुनौतीसमेत दिए।
रेडबुक वितरण नगरेको आरोपबारे उनले भने, “पुस महिनामा सभा सम्पन्न भएपछिको बैठकमा रेडबुक बाँडिन्छ। तर उपमेयर र उनका वडाध्यक्षहरूले मंसिरमै रेडबुक मागे। अहिले पनि कार्यालयमा रेडबुक उपलब्ध छ।”
उपभोक्ता समिति गठनबारे उनले स्थानीय सरकार सञ्चालन ऐनअनुसार टोल भेलाबाट योजना छनोट गरिएकाले आफूले हस्ताक्षर संकलनको प्रक्रिया हेर्न मात्रै सहभागी भएको बताए।
अन्त्यमा यादवले उपमेयर माथेमाले कार्यालयका पिउनबाट निजी काम गराउँदै आएको र काठमाडौंबाट पालिकाको गाडी, चालक, इन्धन प्रयोग गरेको आरोपसमेत लगाए। ती कार्य रोक लगाएपछि आफूलाई दोषारोपण गरिएको उनको भनाइ छ।





