एसपि रिपोर्टर
काठमाणडौं , बैशाख २८ : सशस्त्र द्वन्द्वका पीडितहरुले मानव अधिकार आयोगको कार्यालय, पुल्चोकमा धर्ना दिएका छन् । संक्रमणकालीन न्याय टुंगाउन बनाइएका दुईटा आयोग– सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी सिफारिस समिति सदस्य लीली थापाले नामहरु बुझाएपछि असन्तुष्ट जनाउँदै उनीहरुले आइतबार आयोगमा धर्ना दिएका हुन् ।

सिफारिस समितिकी सदस्य थापाले दलगत रुपमा नामहरु सिफारिस गरेको आरोप लगाउँदै पीडितहरुले आयोगको कार्यालयमा धर्ना दिएका हुन् । आफूहरुका माग सम्बोधन नभए कार्यालयमा ताला लगाउने तथा समानान्तर सत्यनिरुपण आयोग बनाएर आगाडि बढ्ने पीडितहरुले बताएका छन् ।सिंहदरबारमा सिफारिस समितिको बैठक बसिरहेका बेला पीडितहरूले सरकार र दल नियन्त्रित प्रक्रियाबाट बनाइने देखावटी आयोग नमान्ने भन्दै दलका कार्यकर्ता सिफारिस नगर्न दबाब दिँदै शनिबार पनि माइतीघरमा धर्ना बस्नुका साथै विरोध र्‍याली निकालेका थिए ।केहीदिन अघिमात्रै द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले दलीय भागबण्डा नभइ निष्पक्ष एवं पीडितले विश्वास गर्न सक्ने व्यक्तिलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यमा सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका पदाधिकारीहरू सिफारिस गर्न गठित समिति ३४ महिनादेखि खाली रहेका छन् ।मन्त्रिपरिषद्को चैत ११ को बैठकले सिफारिस समिति गठन गरेको थियो।