एसपि रिपोर्टर
काठमाणडौं , बैशाख २७ : पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमण विरुद्ध पाकिस्तानले आज ‘संगठित, सशक्त र निर्णायक जवाफ’ दिएको बताएका छन् ।
उनका अनुसार, पाकिस्तानमाथि आक्रमण सुरु गरिएको भारतका ठूला सैन्य संरचनाहरूलाई लक्ष्य बनाइएको जिकिर गरेका छन् ।प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘आज हामीले निर्दोषहरूको रगतको बदला लिएका छौं। भारतलाई उपयुक्त जवाफ दिइएको छ ।’शरीफले पाकिस्तानले मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको पुष्टि गर्दै यो कारबाहीलाई ‘राष्ट्रिय सुरक्षाको रक्षा’ को रूपमा प्रस्तुत गरेका छन् ।दुवै देशका अधिकारीहरूले आक्रमणको प्रतिरक्षा गरिरहे पनि सर्वसाधारणहरू भने निकै प्रभावित भएका छन् । जम्मु-कश्मीरमा जारी तनावपूर्ण अवस्थाका कारण जम्मु रेलवे स्टेशनमा प्रवासी मजदुरहरूको भीड लागेको छ ।उनीहरू भारतका बिहार, उत्तर प्रदेश, झारखण्ड लगायतका विभिन्न राज्यहरूतर्फ फर्किंदै छन्। जम्मु क्षेत्रका विभिन्न बस्तीहरूमा गोलीबारी भएपछि यो सर्न सुरू भएको हो ।भारतले पहलगाम आक्रमणको प्रतिशोधमा गरेको हवाई हमलापछि पाकिस्तानले गएराति ठूलो मात्रामा जवाफी कारबाही सुरु गर्ने निर्णय गरेको हो ।तत्कालीन अवस्थालाई हेर्दा यो निकै संवेदनशील र खतरनाक मोडमा पुगेको देखिन्छ । दुई देशबीच तोपखानामा हमला गर्ने प्रतिस्पर्धा चलिरहेको छ । यी हमलाहरूमा अहिलेसम्म पाकिस्तानतर्फ १० भन्दा बढीको मृत्यु र ५० भन्दा बढी घाइतेको पुष्टि भएको अलजजिराले लेखेको छ ।पछिल्ला घटनाहरूले सामान्य जनजीवनमा गम्भीर असर परेको छ । सम्पूर्ण उडानहरू निलम्बित छन्, विद्यालयहरू बन्द छन्, र यातायात ठप्प छ। यसले अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पारिरहेको छ।पाकिस्तानमा सर्वसाधारणहरू चिन्तित छन् । उनीहरू दुवै देशबीच पूर्ण युद्ध भयो भने सबैभन्दा धेरै पीडित जनसाधारण नै हुने र यसको सामान्य जनजीवनमा विनाशकारी असर पर्ने विश्लेषकहरूले बताइरहेका छन् ।





