एसपि रिपोर्टर
काठमाणडौं , बैशाख २७ : द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोग—बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग—को पदाधिकारी सिफारिस प्रक्रिया खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन्।
सरकारद्वारा गठन गरिएको सिफारिस समितिले आयोगका पदाधिकारीका लागि प्राप्त आवेदनहरूबाट संक्षिप्त नामावली सार्वजनिक गरिसकेको छ। तर, उक्त सूचीप्रति द्वन्द्वपीडितहरूले गम्भीर असन्तुष्टि जनाएका छन्।पीडित समुदायले आफूहरूको अर्थपूर्ण परामर्श, सहभागिता र अपनत्वबिना प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका हुन्। उनीहरूले पारदर्शिता नअपनाई भागबन्डाका आधारमा नाम सिफारिस गरिएको आरोप लगाएका छन्।प्रदर्शनकारीहरूले सिफारिस प्रक्रिया खारेज गरी नयाँ, सहभागी र पारदर्शी प्रक्रिया सुरु गर्न माग गरेका छन्। उनीहरूले आफ्ना माग सुनुवाइ नभएमा पीडितहरूको नेतृत्वमा ‘समानान्तर नागरिक आयोग’ गठन गर्ने चेतावनीसमेत दिएका छन्।यसअघि द्वन्द्वपीडित प्रतिनिधिहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सह–सभापति शेरबहादुर देउवालाई भेटेर आयोगमा पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका थिए।


